२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

संसदमा प्रतिपक्षी दलको प्रश्न – धितोपत्र बोर्डले आईपीओको अनुमतिका लागि कमिसन मागेको भन्ने विषयमा छानबिन होस् ?



काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले सभामुख देवराज घिमिरेसँग समय मग गरी ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ माग गरे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनलाई लिएर बाहिर आएको घटनाका विषयमा भरपर्दो संयन्त्र बनाएर छानविन गर्न र यसका लागि रुलिङ गर्न सभामुख घिमिरेलाई आग्रह गरे ।

सांसद सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले धितोपत्र बोर्डले साना परियोजनाहरूसँग पाँच प्रतिशत र ठूला आयोजनाहरूसँग सात प्रतिशतसम्मको कमिसनको बार्गेनिङ गरेका कारण २२ महिना देखी ४३ वटा जलविद्युत आयोजनाका ८९ वटा कम्पनीहरूको आइपियोको अनुमति रोकिएको बताए ।

बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले मकवानपुरको राकसिराङमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको भन्दै घाइतेहरूको उपर्युक्त उपचारको व्यवस्था गर्न माग गरे।

बैठकमा योगेन्द्र मण्डलले चैत पाँच गते मोरङको धनपालथानमा आगलागीबाट भएको क्षतिपछि अरूका घर र मदरसाहरूमा शरण लिएर बसेको भन्दै उनीहरुलाई राहत र आवासको व्यवस्था गर्न माग गरे ।

सांसद ठाकुरप्रसाद गैरेले एनआरएनको निर्वाचन उत्पन्न समस्याको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ३२ बजे