७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

उर्जामन्त्रीको दाबी – उद्योगमा पर्याप्त विद्युत वितरण गरेका छौँ



काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योग धन्दाहरूमा पर्याप्त विद्युत् दिएको दाबी गरेका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री खड्काले यस्तो दाबी गरे ।

उनले यो हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको र मङ्गलबार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत् दिइएको बताए । उनले त्यसबाट बाँकी रहेको करिब डेढ सय मेगावाट विद्युत् निर्यात सुरु गरिएको जानकारी दिए । उनले सांसदहरूलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गरे । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उनको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराए ।

उनले भने, ‘‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत् दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरूलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भण्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’’

मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताए । उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताए ।

यसैगरी, मन्त्री खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताए । उनले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएका बताए । उनले मर्मत सम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने जानकारी दिए ।

उनले बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै नभई यसअघिको वर्षहरूमा पनि भएको बताए । उनले गत वर्षमा पनि वर्षमा सात सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको दाबी गरे । कहिले हावाहुरी, कहिले ठुला ठुला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत् आपूर्तिमा समस्या भएको उल्लेख गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १ : ४९ बजे