७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

उदयपुरका ग्रामीण सडक पहिरोले अवरुद्ध



उदयपुर । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका हुन् ।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिरोले पुरिएका स्थानीयले जानकारी दिएका छन् ।

रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएको र बाढीले बगाउँदा अवरुद्ध भएको छ ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन सकेको छैन ।

मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका हुन् । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १२ : २० बजे