काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसदको अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी गरेका छन् ।
मङ्गलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले संसदमा विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गरेका हुन् ।
उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा कानुन निर्माण अपरिहार्य रहेको कारण आफूहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानसँगै अघि बढ्ने निर्णय गरेको पनि बताए । उनले भने, अहिले संसदमा विचाराधीन ऐनहरूको बारेमा कांग्रेस र एमाले सरकारमा छन् । तपाईंहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ । यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना छ ।
उनले सङ्घीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी बाँकी रहेका कानुनी कार्यहरू टुङ्ग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमतिमार्फत अघि बढेको समेत बताए । उनले आफू नेतृत्वको भूमिकामा रहेकाले अब ऐन निर्माणलाई प्राथमिकतामा राख्दै गम्भीर छानबिनसहितको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको कारण सहमति गरेको भए पनि गलत व्याख्या गरिएको जिकिर गरे ।
असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन अराजकतातिर धकेलिने उनको भनाइ छ ।





