काठमाडौँ । मुलुकभरबाट प्रतिनिधित्व गर्ने १४ जना कृषक पुरस्कृत भएका छन् । राष्ट्रपति कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रत्येक प्रदेशबाट दुई जना कृषकका दरले कृषि व्यवसायमा उत्कृष्ट काम गरी छनोटमा परेका १४ किसान पुरस्कृत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितलनिवासमा चौध जना किसानलाई नगद दुई लाखसहित सम्मान गरेका हुन् । पुरस्कृत कृषकमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता, र रमेश साह, मधेश प्रदेशबाट भरतकुमार यादव र हिराबहादुर थापामगर , बागमती प्रदेशबाट चेतप्रसाद ढकाल, र दयाराम मचामसीले पुरस्कार पाएका थिए । यस्तै गण्डकी प्रदेशबाट छिरिङढोका गुरुङ र बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य, र सुवास कुर्मी छन् ।
त्यस्तै कर्णाली प्रदेशबाट गोविन्द ओली, र भरतनाथ योगी, र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी, लोकबहादुर थापा छन् । ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार पुरस्कृत गरिएको हो ।
प्रमाणपत्र सहित नगद पाउँदा किसान उत्साही देखिन्थे । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उत्कृष्ट कृषक पुरस्कारले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै यसले समाजमा नयाँ प्रेरणा दिएको बताए ।
फोटो राष्ट्रपति कार्यालय
















