हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दु मन्दिरमा आइतबार भिडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।
हिन्दूधर्मावलम्बीको पवित्र सहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।
“छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” सहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताए।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताएका छन् ।
“यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उनले भने।
धार्मिक चाडहरूमा घातक भागदौड र भिडभाडका कारण यस्ता दुखद् घटना हुने गरेका छन् ।
गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दु धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका थिए ।
अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौँ मानिसहरू भेला भएका बेला घटेको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो।
जनवरीमा उत्तरी सहर प्रयागराजमा हिन्दुहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। रासस/एएफपी





