५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

नेपालगन्जमा थालियो मल वितरण



नेपालगन्ज । मलको चरम अभाव भएका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा आएर थन्किएको मल मङ्गलबारदेखि वितरण गर्न थालिएको छ ।

तीन चार दिनपहिलेदेखि नै मल आउने क्रम जारी रहे पनि प्रदेश कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र सोमबार अपराह्न मात्र पठाएपछि मङ्गलबारदेखि मल वितरण गर्न थालिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जका प्रमुख वासुदेव उपाध्यायले बताए ।

उहाँले मङ्गलबार बिहानै सबै पालिकालाई कोटा अनुसारको मल लिन तोकिएका डिलरलाई पठाउन पत्राचार गरिएकोमा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले मात्र सोही दिन डिलरको कोटा निर्धारण गरेर पत्र पठाएको बताए ।

त्यसमध्ये बैजनाथ गाउँपालिकाबाट दुई वटा डिलरले २३१ बोरा मल मङ्गलबार नै लगेर गएको तथा अरू डिलर बुधबार आउने र कोहलपुरबाट पनि बुधबार मात्र डिलरहरू मल लिन आउने जानकारी आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जका प्रमुख उपाध्यायले बताए ।

जिल्लाका अन्य छ वटा पालिकाले डिलरलाई कोटा तोकिएको पत्र नपठाएकाले बुधबार पठाउने आशा गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जले जनाएको छ ।

सो कार्यालयका अनुसार प्रदेश कृषि मन्त्रालयले निर्धारण गरेर पठाएको पत्रमा बाँके जिल्लाका लागि आएको छ हजार ९७१ बोरामध्ये नेपालगन्ज उपमहानगरपालिकालाई एक हजार ५५, राप्तीसोनारी गाउँपालिकालाई एक हजार १०८, खजुरा गाउँपालिकालाई एक हजार ४६, बैजनाथ गाउँपालिकालाई ९१८, डुडुवा गाउँपालिकालाई ८१५, कोहलपुर नगरपालिकालाई ७३१ र जानकी गाउँपालिकालाई ७२० बोरा मल वितरण गर्ने कोटा निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ३५ बजे