४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, ‘ब्लास्टिङ’को तयारी



सुर्खेत । कालीकोटको शुभकालीका गाउँपालिका–१, गगने खोलामा पहिरो खस्दा तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध छ ।

सडकमा खसेको ठूलो ढुंगा हटाउन प्रयोग गरिएका मेसिनले सम्भव भएको छैन । सोमबार ९भदौ १६० नेपाली सेनाको सहयोगमा सडक खुलाउने तयारी गरिएको छ ।

ढुंगा धेरै ठूलो भएकाले त्यसलाई विस्फोट गरेर सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

उक्त सडकखण्ड अवरुद्ध हुँदा जुम्ला, मुगु र कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत जिल्लामा स्याउ लिएर जाँदै गरेका गाडीहरू बाटोमै अलपत्र परेका छन् ।

सुर्खेत–जुम्ला सडकखण्डको गगने खोलामा बर्सेनि पहिरो खस्दा नागरिकले सास्ती खेपिरहेका छन् । स्थानीय शासन र जिल्ला प्रहरी कार्यालय कालीकोटले पहल गरिरहेको भए पनि तीन दिनसम्म राजमार्ग खुलाउन नसक्दा यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : २९ बजे