२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो



काठमाडौँ । काठमाडौँ उपत्यकामा आज जेनजीको प्रदर्शनका क्रममा घाइते भई मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
प्रदर्शनका क्रममा स्थिति नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मी र प्रदर्शनमा रहेकाहरूबिच झडपको अवस्था सिर्जना भएको र त्यसक्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
घाइतेमध्ये १७ जनाको काठमाडौँमा र २ जनाको सुनसरीमा मृत्यु भएको हो । देशका विभिन्न स्थानमा भएको जेनजीको प्रदर्शनका क्रममा भएको झडपमा परी घाइते भएका एक सय जना भन्दा बढीको अहिले ट्रमा सेन्टर, सिभिल अस्पताल,काठमाडौँ मेडिकल कलेज, एभरेष्ट हस्पिटल, शिक्षण अस्पताल महाराजगञ्ज लगायत देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा सुरक्षाकर्मीतर्फ ४२ जना घाइते भएका र उनीहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

यसैबीच देशका विभिन्न स्थानमा भएका झडपमा परी घाइते हुनेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
जेनजी प्रदर्शनमा विभिन्न सार्वजनिक सम्पत्तिहरूमा समेत क्षति पुगेको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा व्यवस्थालाई सुव्यवस्थित बनाउन र थप अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रमा आज राती १० बजेसम्मका लागि कर्फयू आदेश जारी गरिएको बताए ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : २५ बजे