२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

घरमा चट्याङ पर्दा चार वर्षीया बालिकाको मृत्यु, आमा-बुवा घाइते



गुल्मी-गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ।

मदाने(५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए।

उनका अनुसार चट्याङ लागेर बुबा नेरसिंह र उनकी श्रीमती सुन्तली घाइते भएकी छन्।

घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ०५ बजे