४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

बेनी–दरबाङ सडक सञ्चालनमा



म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरबाङ सडक मर्मत गरिएको छ । पानी पर्न रोकिएपश्चात् पहिरो पन्छाएर फराकिलो बनाइएपछि बेनी–दरबाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बांगेपहिरोमा सडक मर्मत गरिएको जनाएको छ । कार्यालयका सुपरभाइजर रामजी आचार्यले वर्षा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको बताए ।

सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए ।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीबजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा गएको असारदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् ।

यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरबाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्याक्टर चलेका सडकमा मर्मतपश्चात् बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।

म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरबाङदेखि काठमाडौं र काठमाडौंदेखि दरबाङ रात्रि बस सञ्चालन गर्न थालिएको बताए ।

म्याग्दी नदीमा निर्माणाधीन चारजलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारणलाइन, सबस्टेसन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरबाङ सडकका विभिन्न ठाउँमा पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ । रासस

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ३६ बजे