काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी बैठकमा अमर्यादित टीकाटिप्पणी भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीका व्यक्तिविशेषविरुद्ध गालीगलौज र टीकाटिप्पणी भएको उनको भनाइ छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्तक्षेप गर्नुपर्ने अवस्था समेत बैठकमा सिर्जना भएको उनले जानकारी दिए । उनले कार्यसम्पादनका आधारमा आलोचना गर्न पाइने भए पनि व्यक्तिगत रूपमा निन्दा गर्न नमिल्ने बताए ।
बैठकमा निन्दा र आलोचना छुट्ट्याउन नसकिएको उनले उल्लेख गरे । उनले पार्टी सदस्यलाई अनुशासन सिकाउन आवश्यक रहेको पनि बताए ।
“गाली र निन्दा फरक कुरा हो । व्यक्तिगत रूपमा टीकाटिप्पणी हुने, कार्यसम्पादनसँग लिएर टीकाटिप्पणी हुने, तपाईंको त्यसमा आलोचना गर्न पाइन्छ । आलोचना एउटा कुरा हो, निन्दा फरक कुरा हो,” उनले भने, “आचोलना र निन्दा छुट्ट्याउन नसकेर केन्द्रीय समितिमा साथीहरू प्रस्तुत भइरहनुभएको छ ।”
उनले पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि गालीगलौज गरेर चर्चामा आउने प्रवृत्ति बढेको बताए । यसले समाजमा नकरात्मक असर पार्ने उनले टिप्पणी गरे । न्युज एजेन्सी नेपाल





