१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मन्त्री पुनले गरे त्रिभुवन विश्वविद्यालयको पार्क निर्माणका लागि श्रमदान आह्वान



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीलाई श्रमदान गर्न आह्वान गरेका छन् ।

मन्त्री पुनका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करिब तीन सय ५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्र रहेको झाडीलाई श्रमदाताले २५ दिनको श्रमदानमार्फत प्रायः फडानी गरिसकेका छन् । उनका अनुसार, यो कार्यमा सहभागी श्रमदातामध्ये अधिकांश बाहिरी जिल्लाबाट आएका विद्यार्थी स्वयंसेवक हुन् ।

मन्त्री पुनका अनुसार कीर्तिपुर विश्वविद्यालयको जंगल सफा हुँदै सुन्दर पार्क बन्ने तयारीमा छ । यो काम केही उत्साही स्वयंसेवकले २५ दिनदेखि श्रमदान गरेर सम्भव बनाएका हुन् । उनले स्थानीय बासिन्दा, विद्यार्थी र इच्छुक व्यक्ति सबैलाई यस अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।

श्रमदान अभियानले विश्वविद्यालय परिसरको फोहर र झाडीले ढाकिएको क्षेत्रलाई सफामात्र गरेको छैन, भविष्यमा हरियाली र सार्वजनिक उपयोगका लागि खुला ठाउँमा रूपान्तरण गर्ने लक्ष्य पनि लिएको छ ।

मन्त्री पुनका अनुसार, पार्कमा हिँडडुल मार्ग, वृक्षरोपण, विश्राम स्थल र अध्ययन तथा मनोरञ्जनका लागि अनुकूल वातावरण तयार पार्ने योजना छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक शिक्षण संस्था हो । जहाँ हरेक वर्ष हजारौँ विद्यार्थी अध्ययन गर्छन् ।

मन्त्री पुनको नेतृत्वमा शुरू भएको यो श्रमदान अभियानले विश्वविद्यालयलाई केवल शैक्षिक केन्द्र नभई समुदायमैत्री, हरित र वातावरणमैत्री क्षेत्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ५८ बजे