१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

‘जेनजी’ सरकारले पनि हाम्रा माग पूरा गरेन : सहकारीपीडित



काठमाडौं । सहकारीपीडितहरूले प्रदर्शन जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयअगाडि प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सोमबार पनि प्रदर्शन गरे । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनमा सहभागी बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । छोराछारी पढाउन राखेको रकम फिर्ता नपाएको उनको गुनासो छ । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुनेमा ६३ दिन आन्दोलन गरेको उनले बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ ।

सरकारले पटकपटक वार्ता गरे पनि आफूहरूको माग पूरा नगरेको ढकाल बताउँछन् । कतिपय सहकारीपीडितहरू डिप्रेसनको शिकार समेत बनेको उनको भनाइ छ । सरकारले चाहेमा सहकारीपीडितको रकम फिर्ता गर्न सक्ने उनको भनाइ छ । आफू पनि डिप्रेसनको सिकार भएर औषधि सेवन गरिरहेको उनले बताए । ुजेनजीु आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरूको माग पूरा नगरेको उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले सहकारीपीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै रु लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : १८ बजे