१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित



बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपर समेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए ।

हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार रातिदेखि भारी हिउँ परेको उनले बताए । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो । रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो । तर, रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन,” अदैले भने, “एक साताजति भयो गर्मी बढ्न थालेको थियो । हिउँ परेपछि फेरि चिसो बढेको छ । मंसिर र माघमा पनि हिउँ परेको थियो । यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ । तर, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गएको मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको थियो । माघ १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटेल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र रुकुम पूर्वको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : २३ बजे