काठमाडौँ। नेपाली कांग्रेस धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको टिमलाई बधाई दिएका छन्।
कांग्रेस नेता शेखर कोइराला निकट मानिने सभापति अधिकारीले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको वैचारिक बहस र सुधारका गतिविधिहरूलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा ग्रहण गर्नुपर्ने बताए।
विशेष महाधिवेशनबाट निस्किएको परिणामले पार्टीलाई थप परिपक्व बनाएको उनको ठम्याइ छ। नेपाली कांग्रेस लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनको संरक्षक भएकाले यसले आफूलाई जनभावना अनुसार रूपान्तरण गर्दै अगाडि बढ्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरे।
विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य र सुशासनका लागि गत भदौ २३ गते ुजेन–जेडु अर्थात् नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई पार्टीले आत्मसात गरेको अधिकारीले बताए। सोही आन्दोलनको जगमा नीति र नेतृत्व परिवर्तनको एजेन्डासहित विशेष महाधिवेशन सम्पन्न हुनुलाई उनले सकारात्मक कदमका रूपमा लिएका छन्। पार्टीभित्र भएको यो रूपान्तरणले नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने विश्वास उनले व्यक्त गरे।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा अधिकारीले धादिङका सम्पूर्ण क्रियाशील सदस्य, पदाधिकारी तथा भातृ संस्थाका इकाईहरूलाई एकताबद्ध हुन आह्वान गरे।
निर्वाचनमा पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र संगठन सुदृढीकरणमा केन्द्रित हुन उनले जिल्लाभरका कार्यकर्तालाई अपिल गरे। देशको हित र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले यो निर्वाचन जित्नुपर्ने भएकाले अहिलेदेखि नै चुनावी अभियानमा लाग्न उनले आग्रह गरे।





