१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य



काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ ।

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूचीबमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ ।

प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १४ बजे