जोमसोम । प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुस्ताङमा २८ मतदान केन्द्र छन् ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मीलगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच वटा केन्द्रको संयुक्त अनुगमन गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जिल्लाको थासाङ गाउपालिकास्थित घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको बताए ।
मुस्ताङमा ११ हजार ३२८ जना मतदाता छन् । यहाँको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०७, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस





