‘सेवाबाट सिकेको राजनीति संसदमा लैजान चाहन्छु’
चितवन- प्रेमले भरिएको दृष्टि, पीडामा ढल्किने हृदय र अन्यायविरुद्ध नडराउने आवाज(यी गुणहरूको समष्टि व्यक्तित्व हुन् मीना कुमारी खरेल। सादा जीवन, उच्च विचार र निरन्तर सेवाको दर्शनलाई व्यवहारमै उतार्दै आएकी खरेल तीन दशकभन्दा बढी समयदेखि चितवनको समाजसेवामा सक्रिय छिन्। महिला, बालबालिका, सीमान्तकृत र आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको जीवन यात्रा अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत संसदसम्म पुग्ने मोडमा आइपुगेको छ।
चितवनको माटोमा हुर्किएर यही समाजका आँसु, पीडा, विभेद र संघर्ष नजिकबाट देखेकी खरेलका लागि समाजसेवा कुनै अभियान वा राजनीतिक उचाइको भर्याङ थिएन।
यो त जीवनकै साधना बन्यो। घरेलु हिंसाबाट पीडित महिला, मानव बेचबिखनमा परेका किशोरी, सडकमा अलपत्र बालबालिका र न्याय नपाएका नागरिक—यी सबैका लागि उनी ‘नेता’भन्दा पहिले ‘दिदी’ बनिन्। फोटो र नाराभन्दा हात समाएर, आँसु पुछेर र आत्मसम्मान फर्काएर सेवा गरेकी उनी चितवनमा नाम होइन, अनुभूति बनेर चिनिन्छिन्(‘मीना दिदी’।
विद्यार्थी राजनीतिदेखि जनप्रतिनिधिसम्म
मीना खरेलको राजनीतिक चेतना विद्यार्थी जीवनमै विकसित भएको हो। नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उनी २०४२ सालको सत्याग्रहपछिको विद्यार्थी आन्दोलनमा सक्रिय भइन्। विद्यार्थी शुल्क वृद्धि र शैक्षिक अन्यायविरुद्ध आवाज उठाउँदा नेपाल माध्यमिक विद्यालयमा भाषण गर्ने क्रममा उनी पक्राउसमेत परेकी थिइन्।
त्यसपछि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको जिल्ला तहका विभिन्न जिम्मेवारी निर्वाह गर्दै उनी नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य भइन्। २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर वडा नम्बर ५ बाट महिला वडा सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रूपमा काम गरिन्। हाल उनी नेपाली कांग्रेस चितवनको जिल्ला महासमिति सदस्यको जिम्मेवारीमा छिन्।
२६ माघ २०८२, सोमबार
98
Shares





