२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ



काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङको मतपत्र छपाइ भएको बताए ।

डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मीको मतपत्र छाप्ने काम सकिएको छ ।

झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम ९नवलपरासी०, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । यी जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको छ ।

हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको थियो ।

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : ०७ बजे