काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष डा। बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन् । शनिबार (फागुन ३०) काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२औँ एकता महाधिवेशनमा उनले सरकारको नीतिगत कमजोरीका कारण गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रभावकारी नभएको बताएका हुन् ।
सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन नबनाई प्रमाणपत्र वितरण गरेको उनले आरोप लगाए । गैरआवासीय नेपाली नागरिकता लिएपछि पुरानो नागरिकता नभएको र नयाँले पनि काम नगर्ने स्थिति रहेको उनको भनाइ छ ।
अध्यक्ष केसीले अब बन्ने सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिए ।
“आजभन्दा दुई वर्षअगाडि मैले प्रधानमन्त्रीज्यूको हातबाट गैरआवासीय नेपाली नागरिकता लिएको थिएँ । त्यो नेपाल सरकारले दिएको नागरिकताको प्रमाणपत्र आज नचल्ने भएको छ,” उनले भने, “यो नागरिकताको प्रमाणपत्र चल्ने बनाउनको लागि गैरआवासीय नेपाली ऐनमा परिवर्तन गर्नुपर्नेछ । यो नेपाल सरकारको कमजोरी हो ।”
उनले अगाडि भने, “कुनै पनि प्रमाणपत्र दिनुअगाडि त्यो प्रमाणपत्रले पाउनुपर्ने अधिकार के हो भन्ने कानुन नबनाई प्रमाणपत्र हामीलाई दिइएको छ ।”
जुनसुकै देशमा बसोबास गर्ने भए पनि नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिनुपर्ने उनले बताए । नेपाली भाषी सम्पूर्णलाई गैरआवासीय नेपाली नागरिकता दिएर उनीहरूको लगानी पहिला नेपाल भित्र्याउनुपर्नेमा उनले जोड दिए ।
“पहिलापहिला विदेशी नागरिकता लिए पनि मैले नेपालमा पुरानो नेपालको नागरिकता चलाएर काम गर्थें, आज लाखौँ नेपालीहरूले त्यसै गरिरहेका छन्,” उनले भने, “हामीले लुकाउनुपर्ने यहाँ कुनै कारण छैन । तर, जब गैरआवासीय नेपाली नागरिकता लियौँ, हाम्रो पुरानो क्यान्सिल भइसकेको नागरिकता हो, त्यो पनि हातमा छैन । नयाँ नागरिकताले काम गर्न पाएका छैनौँ ।”
उनले अहिले नेपालमा लगानी भित्र्याउन समस्या भइरहेको बताए । यहाँ लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई सीमा तोकिएको भन्दै उनले गुनासो गरे ।
उनले हाल मध्यपूर्वमा जारी तनावका कारण नेपाली ठूलो समस्यामा परेका बताए । उनीहरूको सुरक्षाका निम्ति सरकारले ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।





