२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज



काठमाडौँ। नेपाल सरकारले संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने गठित उक्त कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेटिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट संविधानसभा सदस्य डा। भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधानसभा सदस्य तथा पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य रहनुभएको छ।।

त्यस्तै, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो प्रतिनिधि टुङ्ग्याउने विषयमा आन्तरिक छलफल गरिरहेका छन्। ती दलहरूले सम्भवतः आजै कार्यदल सदस्यको नाम पठाउने जनाइएको छ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा सहभागी छन्। कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहनुभएको छ।।

संविधान संशोधनका विषयमा व्यापक बहस र सुझाव सङ्कलन गर्ने उद्देश्यसहित गठन गरिएको यस कार्यदलले आगामी दिनमा आफ्नो कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : २० बजे