२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रास्वपा सांसदहरूसँग अर्थमन्त्री : आयोजनामा बजेटका लागि दौडधुप नगर्नू



काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्ना दलका सांसदलाई आयोजनामा बजेट माग धेरै दौडधुप नगर्न आग्रह गरेका छन् ।
यसपटकको बजेट सन्तुलित र न्यायोचित हुने भन्दै मन्त्री वाग्लेले बजेट माग्न धेरै दौडधुप नगर्न भनेका हुन् । स-साना आयोजनामा बजेटको परिपाटी अन्त्य हुने भन्दै उनले सांसदलाई यस्तो आग्रह गरेका हुन् । स–साना आयोजनामा बजेट विनियोजन गर्ने परिपाटी अब अन्त्य हुनेछ र बजेट सन्तुलित आउँछ । सांसदले बजेट र आयोजनाका लागि धेरै दौडधुप गर्नु पर्दैन,मन्त्री वाग्लेले भनेका छन् ।
बुधबार मन्त्री वाग्लेले बजेटका विषयमा आफ्ना दलका सांसदसँग छलफल गरेका थिए । अर्थमन्त्री वाग्लेले बजेटको आकार र खर्चको परिचालन, स्रोत व्यवस्थापन र चुनौती, विद्यमान बजेट प्रणाली, ऋण र अनुदानको अवस्था, राज्यको नियमित दायित्वलगायत विषयमा सांसदहरूलाई जानकारी गराएका थिए ।
यसपटको बजेट वाचापत्रअनुसार नै आउने वाग्लेको भनाइ छ । वाचापत्रमा जे लिएको छ, त्यसैलाई प्रतिविम्बित हुने गरी बजेट आउँछ । बजेट सन्तुलित र जनअपेक्षाअनुसार आउनेछ, मन्त्री वाग्लेले भनेका छन् ।

छलफलमा सांसदहरूले जेनजी आन्दोलनका घाइतलाई बजेटमार्फत उपचार तथा राहत सुनिश्चित गर्न आग्रह गरेका थिए । मन्त्री वाग्लेले बजेटमा विगतकाझैँ विकृति यसपटक नहुने जानकारी सांसदलाई गराएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ११ : ०० बजे