वीरगन्ज – विभिन्न राजनीतिक दल सम्मिलित वीरगन्जमा भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चारबुँदे निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पर्साका भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले बसेको थियो।
बैठकमा शान्ति, सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
उनका अनुसार बैठकमा सुनसरी, सिरहा लगायत देशका विभिन्न जिल्लामा हालै भएका घटना र पर्सा जिल्लाको वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत रूपमा समीक्षा गरिएको छ।
बैठकले हिन्दू, मुस्लिम, बौद्ध, इसाई लगायत सबै धर्मका गुरू, अगुवा तथा जिम्मेवार व्यक्ति एवं संस्थाहरूलाई आ–आफ्नो समुदायमा धैर्य, सहिष्णुता, साम्प्रदायिक सद्भाव र शान्ति कायम राख्न सार्वजनिक आह्वान गर्न अपिल गर्ने ४ बुँदे निर्णय गरेको छ।
जिल्लाका सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा धार्मिक सङ्घसंस्थाको अगुवाइमा आपसी भाइचारा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा शान्ति र्याली गर्नेसमेत निर्णय गरेको छ।
बैठकले स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न संघ(संस्थालाई समाजमा नकारात्मक त्रास फैलाउने गरी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ।
यसै सन्दर्भमा शान्ति र सामाजिक एकता कायम गर्ने तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने समाचार तथा सन्देशलाई प्राथमिकता दिन नेपाल पत्रकार महासंघ पर्सामार्फत सम्पूर्ण सञ्चार क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले मुलुकको विद्यमान विषम परिस्थितिमा जिल्लाको शान्ति, सुरक्षासहित सामाजिक सद्भाव कायम राख्न आ(आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबैसँग अनुरोध गरेको छ।





