१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

सुनकोशी नदीमा कार खस्यो, चार जना बेपत्ता



सिन्धुलीमाढी । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी नदीमा बेपत्ता भएको कारभित्र चार जना रहेको खुलेको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । कार र बेपत्ता यात्रुको खोजी जारी रहेको उनले बताए ।

सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ । बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ०७ बजे