काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका मुद्दा र परिवर्तनको आकांक्षालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार (भदौ २३) वक्तव्य जारी गर्दै लामिछानेले आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट आफूहरू कुनै पनि अवस्थामा विचलित नहुने बताएका हुन्।
उनले नागरिक तहबाट हुने रचनात्मक खबरदारीलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आफ्ना कार्यसम्पादनको निर्मम समीक्षा गर्दै अघि बढ्न आह्वान गरेका छन्।
लामिछानेले पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थालाई लिएर आम नागरिकमा निराशा बढ्ने वातावरण सिर्जना हुन नदिन पनि आग्रह गरेका छन्। नागरिकमा देखिएको आक्रोशलाई देश निर्माणको सकारात्मक शक्तिमा रूपान्तरण गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ।
उनले जेनजी आन्दोलन कुनै राजनीतिक दल वा नेताको व्यक्तिगत तथा दलगत स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने स्पष्ट पारेका छन्। स्वतःस्फूर्त रूपमा अघि बढेको आन्दोलनलाई संकुचित राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रयास स्वीकार्य नहुने उनको धारणा छ।
लामिछानेले आन्दोलनका क्रममा नयाँ पुस्ताले राजनीतिक नेतृत्वसँग उठाएका प्रश्नहरू अझै सान्दर्भिक रहेको बताएका छन्। उनका अनुसार अहिले नेतृत्वले ती प्रश्नको जवाफ दिने जिम्मेवारी पाएको छ।
उनले भविष्यमा नागरिकले पुनः नेतृत्वसँग जवाफ माग्न सक्ने संकेत गर्दै जवाफदेही र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।





