३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

चन्द्रागिरिमा कांग्रेसको वडा अधिवेशन जारी, १४ मा बस्नेत निर्विरोध



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगरपालिकामा वडा अधिवेशनको प्रक्रिया अघि बढेको छ। नगरपालिकाका १५ वडामध्ये वडा नं १, २, ५, ६, ७, ८, १०, ११, १२, १३, १४ र १५ मा वडा अधिवेशन सम्पन्न भएको छ। बाँकी वडा नं ३, ४ र ९ मा आइतबार वडा अधिवेशन हुने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाइएको हो। कांग्रेसले असोज ३ र ४ गते गाउँ र नगर वडा अधिवेशन गर्ने र सोही अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

यसैबीच चन्द्रागिरि १४ को अधिवेशन रामहरि बस्नेतलाई वडा सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। कार्यसमितिमा उप- सभापति भिम बहादुर गुरुङ र र गीता नागिला सहित सचिव , सह सचिव, सदस्यहरु गरी १२ जना नयाँ वडा कार्यसमिति पनि निर्विरोध चयन भएको जनाइएको छ।

त्यस्तैगरी अधिवेशनबाट सृजन श्रेष्ठ , शैलेस कर्माचार्य सहित ३२ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्। ३ सय भन्दा बढी क्रियाशिल सदस्य रहेको यस वडाबाट महिला, खुला,पेशागत श्रमिक, समानुपातिक, अपांग , युवा सहितको कलस्टरबाट प्रतिनिधि चयन भएका हुन् । कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनमा सहमतिको प्रयास सफल भएपछि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था नआएको हो।

निर्वाचन अधिकृत पेशल कुमार खतिवडाको सहजीकरण तथा नेतृत्वमा अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो भने अधिवेशनको समग्र अवस्थाको अनुगमन वडा नं ४ का वडाध्यक्ष तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्णप्रसाद खड्कीले गरेका थिए।

सहमतिमार्फत नेतृत्व चयन

चन्द्रागिरिका विभिन्न वडामा अधिवेशन सम्पन्न हुँदै गर्दा वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयनमा सहमति जुटाउने प्रयास भएको देखिएको छ। वडा नं १४ मा पनि वडा सभापतिसहित कार्यसमिति निर्विरोध चयन हुनु कांग्रेसको आन्तरिक संगठन निर्माणका दृष्टिले महत्वपूर्ण घटनाका रूपमा देखिएको छ।

वडा अधिवेशन पार्टीको तल्लो तहबाट नेतृत्व छनोट गर्ने महत्वपूर्ण प्रक्रिया हो। वडा कार्यसमितिले स्थानीय तहमा पार्टी संगठनलाई सक्रिय बनाउने तथा पार्टीका नीति, कार्यक्रम र गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने भूमिका निर्वाह गर्छ। त्यसैगरी वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिले आगामी तहका अधिवेशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

चन्द्रागिरिमा वडा अधिवेशन सम्पन्न भएसँगै अब नगर अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको घोषित कार्यतालिकाअनुसार असोज १६ देखी १९ सम्मको कांग्रेसको केन्द्रीय महाधिबेशन हुनेछ ।

चन्द्रागिरि नगरपालिकामा कांग्रेसको संगठनात्मक उपस्थिति लामो समयदेखि रहँदै आएको छ। स्थानीय तह निर्वाचन २०७९ मा पनि नगरपालिकाका अधिकासं वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

अब वडा नं. ३, ४ र ९ मा आइतबार हुने अधिवेशनसँगै चन्द्रागिरिका सबै १५ वडाको अधिवेशन प्रक्रिया पूरा हुनेछ। त्यसपछि वडा तहबाट चयन भएका नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिको आधारमा नगर तथा क्षेत्रीय तहका अधिवेशनतर्फ कांग्रेसको संगठनात्मक गतिविधि केन्द्रित हुनेछ।

चन्द्रागिरि कांग्रेसका लागि वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई आगामी महाधिवेशनका लागि संगठनलाई वडा तहबाटै व्यवस्थित र चलायमान बनाउने महत्वपूर्ण चरणका रूपमा समेत हेरिएको छ।

यी हुन् चयन नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ८ : ०० बजे