१६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026

सिर्जना बुलाकोटी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुलाकोटी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको क्षेत्रीय अधिवेशनअन्तर्गत विभिन्न पदमा भएको चयन प्रक्रियामा बुलाकोटी महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी हुन्।

स्थानीय तहको नेतृत्वमा रहेर जनप्रतिनिधिका रूपमा काम गर्दै आएकी बुलाकोटीको निर्विरोध चयनलाई काठमाडौं क्षेत्र नम्बर ७ को पार्टी संगठनभित्रको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नगरपालिकाको उपप्रमुखका रूपमा स्थानीय विकास, जनसरोकार र सेवा प्रवाहसँग सम्बन्धित जिम्मेवारी निर्वाह गर्दै आएकी उनी अब पार्टीको केन्द्रीय महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्व गर्नेछिन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर ७ ले क्षेत्रीय कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन गरेको थियो ।
महाधिवेशन प्रतिनिधिका रूपमा बुलाकोटीले पार्टीको नीति, नेतृत्व चयन तथा भावी कार्यदिशा निर्धारण गर्ने प्रक्रियामा सहभागिता जनाउनेछिन्। स्थानीय तहको अनुभव र पार्टी संगठनमा प्राप्त जिम्मेवारीलाई उनले महाधिवेशनमा कसरी प्रस्तुत गर्छिन् भन्ने विषय पनि चासोका रूपमा हेरिएको छ। उनले आगामी फागुनमा हुने स्थानीय तहको प्रमुखको तयारी समेत गरिरहेकी छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ११ : २३ बजे