काठमाडौँ । आज महाशिवरात्रि देशभरका शिवालयमा शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। भक्तपुरको डोलेश्वर, काठमाण्डौको पशुपतिका साथै नौलोगाउँ बझाङ, कैलाशमाडौं बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाण्डौ डिल्लीबजारको वसन्तेश्वर, जयबागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना भइरहेको छ ।
पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ। पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ।
आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषले जनाएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। पशुपतिमा दर्शको लागि एकै पटक १० जनासम्मले दर्शन गर्न मिल्ने पशुपति क्षेत्र बिकासको कोषले जनाएको छ ।