काठमाडौं । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक महानवमीको दिन मात्र खुल्ला हुने गर्दछ ।
दसैँको महानवमीका दिन तलेजु भवानीको दर्शनार्थी बिहानैदेखि लाइन लागेका थिए । कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।
तलेजु भवानीलाई विजयादशमीको दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ।





