७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी



चितवन । भोटीकोसी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ ।

गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो ।

यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटेल ल्यान्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताए । उनले भने, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।”

वर्षाका कारण पुनः बाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उनको भनाइ छ ।

यससँगै भोटेकोसी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ ।

अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनको अपेक्षा छ । भोटेकोसी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले जानकारी दिए । नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ ।

होटेल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउँछन् । उनले भने, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।”

शुक्रबार, शनिबार र आइतबार धेरै होटेल भरिने अनुमान गर्दै उनले भने, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।”

विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उनले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शुक्रबार  ९ : ५३ बजे