८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री



मुक्तिनाथ । दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँच वटा स्थानीय तहका कृषकले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएको हो ।

यस बर्ष मुस्ताङका कृषकले सात हजार नौ सय ६४ च्याङ्ग्रा, १२ सय ४ भेडा ९च्यालुक०, डोल्पाबाट ३५ सय ५१ भेडाच्याङ्ग्रा, मुगुबाट भेडाच्याङ्ग्रा दुई सय ६० गोटा, जुम्लाबाट तीन सय, तिब्बतहुँदै कोरला नाकाबाट चार सय ३८ च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा।लालमणी अर्यालले बताउनुभयो ।

प्रमुख डा।अर्याल भन्नुहुन्छ,‘‘दसैंमा उत्साहजनक बिक्री भएको छ, बाँकी रहेको तिहारलाई लक्षित गरी बाहिरिन्छ, केही कृषकले एकैपटक बिक्री नगरी रोकेका छन् ।’’ उहाँका अनुसार गत बर्षको तुलनामा मुस्ताङमा भेडाच्याङ्ग्रा कृषकले मूल्य राम्रो पाएको बताउनुभयो । यस बर्ष हिमपात र बाढीपहिरोका कारण डोल्पाबाट कम आएको छ । गत आर्थिक बर्ष २०८२–०८३ सालमा १५ हजार ६ सय वटा भेडाच्याङ्ग्रा बिक्री गरी ३६ करोड ५० लाख रुपियाँ मुस्ताङमा भित्रिएको थियो । मुस्ताङका किसानले गोठबाट र आफैंले बजारमा लगेर बेच्ने गरेका छन् ।

मुस्ताङका पशुपालक कृषकले रोज्जा, रोमा तथा सानाठुला भेडाच्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपियाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । तिहार आसपासमा गोठमा बिक्री गर्न योग्य भेडाच्याङ्ग्रा बिक्री गरी बाँकी गोठमा राखेर बेंसी झर्ने गरेका छन् । मुस्ताङमा लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पकेट क्षेत्रको रुपमा चिनिन्छ । तिहारमा करिब २ करोडको बिक्री हुने अनुमान गरिएको छ ।

मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गर्ने गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका कृषक आङयाल गुरूङले यसवर्ष १ करोड ५० लाख रुपियाँभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री गरेको बताउनुभयो ।

सामान्यतः एउटा भेडाच्याङ्ग्रालाई मासु खानयोग्य बनाउन तीन वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ । रोज्जा च्याङ्ग्रा तयार गर्न करिब चार बर्ष लाग्छ । प्रतिकुल मौसमका कारण गत बर्षको तुलनामा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट झन्डै साढे १४ सय भेडाच्याङ्ग्रा कमी आएकाले बजारमा मूल्य आकासिएको काठमाडौँबाट च्याङ्ग्रा खरिद गर्न आउनुभएका व्यापारी ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।

समुद्री सतहदेखि ६ हजार मिटरसम्मका उच्च हिमाली क्षेत्रमा पाइने र कठोर चिसो तथा कम अक्सिजनयुक्त वातावरणमा हुर्किने, लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा हिमाली च्याङ्ग्राको माग बढी हुने गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, शनिबार  ८ : २२ बजे