१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

नेपाल रेडक्रसले भन्यो– ‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो



कठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ ।

दसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कम भएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले रक्तदानका लागि विशेष अनुरोध गरेको हो ।

“रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी र पीआरपी)को मौज्दात सकिएको छ,” नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा। प्रकाश यादवले भने, “यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ ।”

उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएकाले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा संघसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नं ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ ।

आफ्नो मोबाइलको प्लेस्टोरमा गएर (एनआरसीएस बीटीएस)मा गएर पनि रक्तसञ्चारका बारेमा जानकारी लिनका लागि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०८३, बुधबार  ८ : ५७ बजे