३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

हेटौँडा कार्यालयबाट ७६ प्रतिशत राजस्व सङ्कलन



हेटौँडा । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन चार महिना बाँकी हुँदा कार्यालय पाएको लक्ष्यको झण्डै ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

कार्यालयको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको कुल राजस्व सङ्कलन लक्ष्य पाँच अर्ब ३५ करोड ९६ लाख तीन हजार रुपियाँ रहेकोमा गत साउनदेखि फागुन मसान्तसम्ममा ७५।८२ अर्थात् चार अर्ब छ करोड ३८ लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो।

कार्यालयको फागुन महिनाको मात्र ६३ करोड ९८ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९०।०१ प्रतिशत अर्थात् ५९ करोड ५१ लाख २८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिला अर्थात् गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

राजस्व कार्यालयले आय कर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। कार्यालयले गत फागुन महिनामा आय कर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो।

कार्यालयले चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा आय कर बापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करबापत एक करोड आठ लाख १७ हजार, ब्याज कर छ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : २६ बजे