२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

गृहमन्त्री लामिछानेले भने राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुहोस्



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् । उनले आज्ञापालक नभएर सिर्जनशील हुन प्रशासकलाई निर्देशन दिए । उनले नागरिकबाट मान सम्मान खोज्ने भन्दा उनीहरूलाई सम्मान गर्नुपर्ने बताए ।

बुधबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भने, ‘ राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरूलाई सम्मान गर्नुहोस्। औपचारिक कार्यक्रममा धेरै समय बरबाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, जिम्मेवारी लिएपछि नभाग्नुस्।’

उनले अध्यागमनका समस्या समाधानका योजना ल्याउनका लागि कर्मचारीले सहयोग गर्नुपर्नेमा जोड दिए । सेवाग्राहीले सास्ती भोग्नु नहुने उनको भनाइ छ। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भन्दै उहाँले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नसमेत निर्देशन दिए ।

‘‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकार अनुसार काम गर्नुहोस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्’’, गृहमन्त्री लामिछानेले भने।

उनले सार्वजनिक सरोकारका विषयमा तत्काल सुधारका योजना बनाएर लागू गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुहोस्।’’

गृह मन्त्रालयले केही दिन अगाडि अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि गृहमन्त्रीले गृहमन्त्रीले निर्देशन दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ५९ बजे