भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जंगलमा लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जंगलमा फैलिएको डढेलो सूर्यविनायक–८, सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको उनले जानकारी दिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताइन् । उनले भने, “आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले संकलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जंगलमा लागेको आगोका कारण जंगली जनावर मरेको बताए । धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनले बताए । गो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उनले बताए ।