काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्र्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।”
प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो ।
पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र उनको सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए ।
पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।
माडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को शुक्रबार नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्”, प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युतको खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले बताए ।
“हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।
“भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए ।