८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल



काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि नेपालीले गर्न परिरहेको बताए।

‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस्। आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ,’ उनले भने, ‘देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाई हामीहरूले नै गर्नुपरेको छ।’

राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको पनि बताए।

पौडेलले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी रहेको स्पष्ट पारे।

‘तपाईँहरूलाई पनि जानकारी भएकै हो कि लिग अफ नेसन्सको असफलतापछि संयुक्त राष्ट्रसंघको जन्म भयो। द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसंघले आज ७८ वर्ष पूरा गरेको छ। विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदानलाई हामी कति पनि अवमूल्यन गर्न सक्दैनौँ। तथापी यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन्। यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ। समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ।’

उनले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सिप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : २२ बजे