४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहिबार बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले कार्यादेशमा नयाँ शिराबाट सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेससँग छलफल गरी सदनको गतिरोध अन्त्य गर्न पार्टीका तर्फबाट पहल गर्ने जानकारी दिए । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्नेमा विवाद छ ।

आजको बैठकले १०औं राष्ट्रिय महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने र महाधिवेशन तयारीका लागि थप छलफल गर्न सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : ४२ बजे