म्याग्दी । बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका १०० वर्ष पुराना ढुंगेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । वि।सं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।
मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुंगेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् । वि।सं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताए ।
प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताए ।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताए ।
हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् । भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताए ।
त्यसैगरी, मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सात ढुंगेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् ।