म्याग्दी । बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको गलेश्वर बजारमा कटान र बाढी नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत योजना निर्माण भएको हो ।
राहुघाट र कालीगण्डकी नदी किनारमा ११० मिटर कम्पोजिट पर्खाल निर्माण भएको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्ण विश्वकर्माले बताए । सो योजना निर्माणका लागि विसं २०७९ पुसमा भाग्यलक्ष्मी कन्स्ट्रक्सनसँग दुई करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो ।
नदीको सतहभन्दा दुई मिटर तलदेखि चार मिटर पक्की र त्यसमाथि थप चार मिटर अग्लो ग्याविन पर्खाल निर्माण भएको छ । भाग्यलक्ष्मी कन्स्ट्रक्सनका प्रतिनिधि राजकुमार श्रेष्ठले २०८१ असार मसान्तसम्म ठेक्काको म्याद भए पनि लक्ष्यअघि नै काम सकिएको बताए ।
विसं २०७५ असोजमा राहुघाट र २०७७ असार–साउनमा कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर गलेश्वर, राहुघाटको बस्ती, गायत्री मन्दिर, बेनी–जोमसोम–कोरला सडक, मोटरेबल पुल जोखिममा परेका थिए ।
राहुघाट नदी किनारमा निर्माण भएको योजनाबाट जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । उनका अनुसार दोभानमा कालीगण्डकीको किनारै किनार राममन्दिर जोड्ने झोलुङ्गे पुल हुँदै शवदाहस्थल–प्रहरीचौकीतर्फ थप नियन्त्रणको काम गर्न परियोजनालाई प्रस्ताव गरिएको छ ।