९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

ताप्लेजुङमा बाढीपहिरोबाट दर्जनौँ परिवार विस्थापित



ताप्लेजुङ । निरन्तर वर्षापछि ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । गएको बुधबारयता निरन्तरको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।

गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए ।

प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको प्रनाउ रावलले बताए ।

यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवार विस्थापित भएको छ । मामांखेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार वर्षासँगै गएको पहिरोले सिरिजंघा–७ मा नवराज लिम्बूको घर, भान्साघर र पशुचौपाया गरी १६ लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

यस्तै, शुक्रराज लिम्बूको घर पूर्ण रूपमा र पशुचौपाया गरी १० लाख ८० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरिजंघा–८, याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामांखेका करिब ३०० परिवार खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए ।

बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । ५५ पशुचौपाया मरेका छन् ।

मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भूबनावट पहिरोको जोखिममा पर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार, यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ०८ बजे