८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वीरगन्ज महानगरले ल्यायो दुई अर्ब ८९ करोडको बजेट



पर्सा । वीरगन्ज महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१र८२ का निम्ति दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरे ।

आउँदो आवको बजेटमा चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७०.७ र पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै, वित्तीय व्यवस्थातर्फ तीन करोड ६४ लाख अर्थात् १.२ प्रतिशत विनियोजन गरिएको छ ।

उपप्रमुख आलमले आउँदो आवमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार रुपैयाँ खर्च व्यहोर्ने बताए । संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख नौ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख आठ हजार रुपैयाँ स्रोतका रूपमा प्राप्त हुनेछ ।

यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख, अन्य स्रोतबाट दुई करोड ४० लाख र नगद मौज्दातबाट १० करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

आउँदो आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै, बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ ।

उपप्रमुख आलमले महानगरले आउँदो आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवद्र्धन गर्नेतर्फ उन्मुख गरिएको बताए । “आन्तरिक राजस्वलाई नगरको भरपर्दो एवं दिगो वित्तीय स्रोतका रूपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रूपमा लिएको छु,” उनले भने, “बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको कराधार फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेको छु ।”

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : २८ बजे