२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वतखण्ड अवरुद्ध



पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वतखण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुलनजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो ।

पहिरोले झन्डै ५० मिटर सडक पुरिएको छ । आइतबारदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहिरो खसेपछि अर्मादी–मोदीवेणीखण्डको यातायात सेवा अवरुद्ध बनेको छ । त्यहाँबाट चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए । भीरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादीखण्डमा यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खोलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम पूरा भएको छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । उनका अनुसार, केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुंगे पुल जोखिममा परेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ०५ बजे