८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

डेंगु र हैजा महामारीका रुपमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता



काठमाडौँ । देशका विभिन्न भागमा हैजा तथा डेंगुको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ ।

टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलिन नदिन र सङ्क्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।

डेंगु फैलिन नदिन लामखुट्टे नियन्त्रणमा जोड
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगु प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगु परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ०९ बजे