८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आचार्य छानिए



रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।

साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजीनामा दिनुभएपछि आज बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

गिरीले यसअघि उपनेता रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

आज बुटवलस्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जानकारी दिए।

त्यसैगरी बैठकले प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहनुभएका तुलसीप्रसाद चौधरीले जिम्मेवारी तोकेको छ भने सचेतकमा यमुना रोकाले जिम्मेवारी पाएका छन् ।

शनिवारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी थिए । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लिला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमान्नु भएपछि आचार्यलाई दलको नेता बनाइएको हो ।

दलको नेता बनेपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाए ।

“पार्टीको निर्णयअनुसार मुख्यमन्त्री बनेको हुँ, आज संसदीय दलको निर्णयअनुसार दलको नेता बनेको छु, भोजप्रसाद उपनेता हुनुभएको छ भने तुलसी चौधरी प्रमुख सचेतक र यमुना रोका सचेतक हुनुभएको छ, सोही जिम्मेवारीअनुसार कार्यसम्पादन गर्ने छौँ”, उनले भने ।

संसदीय दलको बैठकलेमा मुख्यमन्त्री आचार्यले ४ गते विश्वासको मत लिनुहुने भएकोले त्यसको तयारीका बारेमा पनि छलफल गरिएको जनाइएको छ।

८७ सदस्यीय प्रदेशसभामा एमालेबाट २९ सांसद छन्।

एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री आचार्यले मङ्गलवार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ। विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुङ्गो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले आज दलको नेता टुङ्गो लगाएको हो ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ५ : ५९ बजे