२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको त्रुटि सच्याउन निर्देशन



काठमाडौँ । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ।

बुधवार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आमजनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो।

उक्त परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ। 

सभापति थापाले भने, ‘आमनागरिकको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भीर विषय र विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा के कारणले कमजोरी भएको हो? १० दिनभित्र छानबिन गरी तथ्य बाहिर ल्याउन यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ।’

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए। यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटि गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समितिसमक्ष गरे।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ४ : ५७ बजे