काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्यालले गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकका रूपमा कार्य गर्दै आएकी थिइन् । उनी २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गरेकी हुन् । २०७८ माघ १८ मा उहाँ नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट अर्यालले इन्जिनियरिङमा स्नातक तथा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । टेलिकममा उनी ११ तहको वरिष्ठ कार्यकारीसमेत हुनुहुन्छ ।
विगत ३० वर्षदेखि दूरसंचारमा विशेषज्ञता हासिल गरेकी अर्यालसँग टेलिकमको मुख्य प्राविधिक अधिकारी, मुख्य वाणिज्य अधिकारी, ब्याकबोन ट्रान्समिशन निर्देशनालयमा प्रबन्ध निर्देशक र हाल नेपाल टेलिकमको केन्द्रीय कार्यालयको प्रमुख प्राविधिक अधिकृतको पदका अतिरिक्त कार्यवाहक (कार्यकारी)प्रबन्ध निर्देशकको रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दै आएकी थिइ्न् ।
उनीसँग माइक्रोवेभ, अप्टिकल फाइबर, राउटर स्विच, सेलुलर नेटवर्क, दूरसञ्चार उत्पादनको मार्केटिङमा व्यावसायिक विशेषज्ञता, मिडिया व्यवस्थापन, मूल्य अभिवृद्धि सेवाहरू व्यवस्थापन, उत्पादन प्याकेजिङ, घटना व्यवस्थापन, ब्यान्डविथ व्यवस्थापन, अन्तर्राष्ट्रिय आवाज, डेटा, एटीपी ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय साझेदार व्यवस्थापन, कम्पनीको सीएस आर व्यवस्थापन, ठगी प्रणाली व्यवस्थापन, बिलिङ प्रणाली अनुगमन र व्यवस्थापन, नियामक इन्टरफेस, ताररहित नेटवर्क गरी विभिन्न प्रसारण प्रणालीहरूको क्षेत्रमा दक्षता छ ।