९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

नेपालका युनिक उत्पादन सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न जरुरी छ: अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन्। नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा। महतले हामी सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताए ।

‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता यहाँको विशिष्ट पहिचान हो ।’

मन्त्री डा। महतले भने, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नैपर्छ भन्ने छाप जसले छोड्नसक्छ उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’

‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री डा। महतले भन्नुभयो, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : २५ बजे