८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

दुई दिनमा सडक दुर्घटनाले १९ जनाको ज्यान लियो,चुनौती सडक सुरक्षाको

काठमाडौं,बाग्लुङ र दाङ सडक दुर्घटना



काठमाडौं । दुई दिनमा काठमाडौं,बाग्लुङ र दाङ सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठडमाडौँदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौँ चन्द्रागिरि ४ हिमचुली दुर्घटना भएको थियो ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी की पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौँ(२ का डा। महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएका छन् ।

त्यस्तै शनिवार बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

त्यस्तै शुक्रबार राती नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका बताएको छ । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : १९ बजे